दिल्ली बाट स्विच थिचेर सोलु करिडोर को उद्घाटन गरिने

२०७८ चैत्र १६, बुधबार
पढ्ने समय : 2 मिनेट

चैत १६
प्रधानमन्त्री शेरबहादुर देउवा को भारत भ्रमणमा सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन हुने भएको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा शनिबार स्विच थिचेर प्रसारण लाइनको उद्घाटन गर्ने ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय ले जनाएको छ ।
सोलु खोला जलाधार क्षेत्रका जलविद्युत आयोजना हरु बाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारण लाइन करिब ३ वर्ष ढिला गरी गत २ फागुन मा यो प्रसारण लाइन चार्ज गरिएको थियो ।

नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलियत पूर्ण ऋणमा यसको निर्माण सकिएको हो ।

सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिका को तिङ्ला सम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ वटा रहेको छ ।
सोलु करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत तिङ्ला मा १३२÷३३ केभी, ३० एमभीए र ३३÷११ केभी, ८ एमभीए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालनमा छ । अहिले तिङ्ला सबस्टेसन बाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुन थालेको छ ।
प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जी सँग २०७२ चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७३ को असोज बाट कार्यान्वयनमा आएको थियो । तर, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीय बाट भएको अवरोध, जटिल भौगोलिक अवस्था लगायतका कारण आयोजना निर्माण मा ढिलाइ भएको थियो । सोलु नदी बेसिन मा निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत प्रवाह का लागि यो महत्वपूर्ण प्रसारण आयोजना हो ।

यो लाइन बनेपछि बर्खाको समयमा पूर्ण क्षमता मा चल्न नसकेको २३.५ मेगावाट को सोलु खोला र निर्माणाधीन जलविद्युत आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत् प्रवाहको समस्या समाधान भएको छ ।

आयोजनाहरुको विद्युत् सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङ लगायतका जिल्लामा आपूर्ति दिन सकिन्छ भने बढी भएको विद्युत ढल्केबर सबस्टेसनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो भएको छ ।

तिङ्ला सबस्टेसन बाट विद्युत आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत सेवा भरपर्दो र गुणस्तरीय हुनुका साथै चुहावट पनि घट्ने अपेक्षा रहेको छ ।

२३.५ मेगावाटको सोलु खोला सहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोसी) ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत आयोजनाको विद्युत् तिङ्ला सबस्टेसनमा जोडिने छ ।
यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजना सँग ३२५ मेगावाटको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय