चैत १५
पर्वतको देउपुर देखि कास्कीको लेखनाथ सम्म को मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन गरिएको छ ।
उर्जा, जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुषाललेले उक्त प्रशारण लाईनको उद्घाटन गरेकी हुन ।
भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा विद्युत प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गरिएको हो। परियोजना अन्तर्गत तीनवटा सबस्टेसन निर्माण गरिएको छ। भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन ‘इण्डिया एट सेभेन्टी फाईव आजादी का अमृत महोत्सव’ अन्तर्गत यो परियोजना उद्घाटन भएको भारतीय दुतावासले जनाएको छ।



मोदी–लेखनाथ परियोजना अन्तर्गत ४२ किमि लामो विद्युत प्रसारण लाइनको निर्माण भएको छ। नयाँ मोदी, लह चोक र लेखनाथमा सबस्टेसनहरुको निर्माण भएका छन् । भारतको एक्जिम बैंकको आर्थिक सहयोग अन्तर्गत भारतको केपीटीएल लिमिटेड र एबीबीले यस परियोजनाको निर्माण गरेका हुन।
भारत–नेपाल उर्जा सहकार्य अन्तर्गत विद्युत परियोजनाको विकास, सीमापार एवम् नेपालभित्रका प्रसारण लाइनको निर्माण र उर्जा व्यापार पर्दछन् । ऋण सहयोग अन्तर्गत मोदी–लेखनाथ परियोजनाका अतिरिक्त भारत सरकारले नेपाललाई चारवटा प्रसारण लाइन र सबस्टेसन परियोजनाको निर्माणमा सहयोग गरेको छ ।
ती परियोजनाहरुमा २२० केभी को कोशी कोरिडोर, १३२ केभीको सोलु कोरिडोर र ४०० केभी मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनको ढल्केबर–भिट्टामोड खण्ड रहेका छन् । ‘छिमेकी पहिलो’ नीति अनुरुप सीमापार आर्थिक कनेक्टिभिटिलाई सुदृढ बनाउन भारतले गरेको प्रयासमा यस परियोजनाले थप सघाउ पु¥याउने दुतावासले जनाएको छ।
उद्घाटन कार्यक्रममा नेपालका विभिन्न सरकारी अधिकारी तथा भारतीय विदेश मन्त्रालयका सह सचिव श्रीधरण मधुसूधनन नेतृत्वको टोली एवम् विदेश मन्त्रालय, एक्जिम बैंक र भारतीय राजदूतावासका अधिकारीहरुको उपस्थिति थियो ।



