चैत्र ४,
— सिद्धबाबा सुरुङको डिजाइन ९ महिनाभित्र तयार पार्नेगरी ठेक्का सम्झौता गरिएको छ । निर्माण सम्पन्न गर्नुपर्ने ५ वर्ष समय भए पनि ९ महिना मा डिजाइन र ४ वर्ष ३ महिनाभित्र निर्माणको काम सक्नु पर्ने छ । ठेक्का सम्झौता भने चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग गत फागुन २५ गते भएको हो ।
सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार तोकिएकै समयभित्र निर्माणको काम सकिसक्नु पर्ने छ । निर्देशक श्रेष्ठका अनुसार डिजाइनका लागि प्राविधिक टोली केही समयभित्र फिल्डमा जाने तयारी छ ।
‘तोकिएको समयभित्र डिजाइनको काम सकेर केन्द्रलाई बुझाउनु पर्ने छ,’ निर्देशक श्रेष्ठले भने, ‘डिजाइन स्वीकृत भएपछि निर्माणको काम अघि बढ्ने छ ।’ उनका अनुसार सो निर्माण कम्पनीको प्राविधिक टोलीले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)मा सुरुङको डिजाइन गरेर पेश गरिसकेको छ । ‘त्यसैले प्राविधिक आउन समय लाग्ने छैन, केही समयभित्रै फिल्डमा गएर यसको अध्ययन सुरु हुने छ,’ उनले भने । उनका अनुसार निर्माण सकिएको ५ वर्षसम्म कम्पनीले सुरुङको मर्मत सम्भार गर्नुपर्ने छ ।



उक्त निर्माण कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का पाएको हो । उक्त कम्पनी ठेक्का लिएर काम भने कम गर्नेमा पर्छ । सो कम्पनीले ठेक्का लिएको नारायणगढ–बुटवल सडक को ३ वर्षमा प्रगति १२ प्रतिशत मात्रै छ । सिद्धबाबामा ३ सय मिटर आपतकालीन सुरुङमार्ग पनि निर्माण गर्नुपर्नेछ । मुख्य सुरुङको दूरी १.१ किलोमिटर रहनेछ ।



