साउन ६
यसपालि पनि मलको हाहाकारबीच किसानले रोपाइँ र अन्य खेतीपाती गरेका छन । स्थानीय सहकारीले उपलब्ध गराएका धेरथोर मलले नभ्याएपछि आवश्यक मलको खोजीमा किसान भौंतारिइरहेका देखिन्छन । तर, सरकारले कृषि सामाग्री कम्पनीमार्फत चीनबाट किनेको झन्डै साढे सात लाख बोरा युरिया दुई महिनादेखि भोटेकोशी गाउँपालिका—२ स्थित तातोपानी नाकामा थन्किएको छ ।
एक सय ११ कन्टेनरले वैशाखमा ल्याएको सात लाख ३५ हजार बोरा मल लार्चा यार्ड गोदाममा रहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जनाए ।



मलले सिंगो गोदाम ढाकेकाले लोडअनलोड गर्न भन्सारलाई समस्या परेको र बन्दरगाहमा आएका सामाग्री भन्सार कार्यालयभित्र राखेर जाँच गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘मल यसरी बसेको दुई महिना भइसकेको छ, हामी भन्सार प्रक्रिया सकेर तुरुन्तै पठाउन तयार छौं, सम्बन्धित पक्षलाई यसबारे खबर पनि पठाएका छौं,’ उनले भने ।
०७२ को भूकम्पको चार वर्षपछि एकतर्फी मालवाहाक रूपमा खुलेको तातोपानीबाट गत वर्षको वैशाख १८ मा निर्यात खुलेको हो । सिल्क कम्पनी अन्तर्गत रहेको सिल्क मार्केट प्रालिले कृषि सामाग्री कम्पनीबाट मल आयातको जिम्मेवारी ठेक्का पाएको थियो । ठेक्का आर्थिक वर्ष ०७९÷०८० मा सम्झौता भए पनि सम्झौतअनुरूप सिल्क मार्केटले अनेक समस्या देखाएर समयमै मल ल्याउन सकेन । गत वर्ष ल्याउनुपर्ने मल यस वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामाग्री कम्पनीले मल लिएन । कृषि सामाग्रीसँग आवश्यक प्रक्रिया नसकिएको र थप कुराकानी गरिरहेको सिल्क मार्केटका व्यवसायी रमेश शेर्पाले जनाए । ‘प्रक्रिया पूरा भएपछि मल काठमाडौं लैजान्छौं,’ उनले भने ।
कृषि सामाग्री कम्पनीसँग गत वर्ष भएको सम्झौताअनुसार मल बिक्री गर्न नसकिने भएपछि सिल्क मार्केटले मल भन्सारमै राखेर कम्पनीसँग कुराकानी गरिरहेको हो । गत वर्षको तुलनामा मलको मूल्य घटेकाले आयातकर्ताले मूल्य समायोजन गर्न कृषि सामाग्रीलाई अनुरोध गर्दै आएको छ ।



