कर्णाली करिडोर प्रसारण लाइन निर्माणको जिम्मा भारत को कल्पतरुलाई

२०७९ फाल्गुन २१, आईतवार
पढ्ने समय : < 1 मिनेट

फागुन २१,
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले कर्णाली करिडोर ४ सय केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कल्पतरु इन्डिया पावर ट्रान्समिसन लिमिटेडसँग सम्झौता गरेको छ । प्रसारण लाइनको लगानीका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेपछि कम्पनीले भारतीय कम्पनीसँग सम्झौता गरेको हो ।
कर्णाली करिडोर प्रसारण लाइन बनाउने जिम्मा भारतीय कम्पनीलाई दिइएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले जानकारी दिए । कम्पनीले ४८ महिनामा काम सक्ने गरी सम्झौता गरिएको उनको भनाइ छ ।
‘बोलपत्र आह्वानमा सबैभन्दा कम कबोलका आधारमा कर्णाली करिडोर प्रसारण लाइन बनाउने सम्झौता भारतको कल्पतरु सँग भएको छ,’ ज्ञवालीले भने, ‘सम्झौता अनुसार ४ वर्षमा कम्पनीले काम सक्नुपर्छ ।’ प्रसारण लाइन निर्माणका लागि कल्पतरुसँग करिब ८ अर्ब रुपैयाँमा सम्झौता भएको उनले बताए । यसमा प्रसारण लाइन मात्रै तयार हुनेछ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले जारी गरेको बोलपत्र मा चाइना इलेक्ट्रिक पावर इक्विपमेन्ट एन्ड टेक्नोलोजी, कल्पतरु, ट्रान्सरेल लाइटिङ लिमिटेड लगायत ३ भारतीय र ३ चिनियाँ कम्पनीले प्रस्ताव पेस गरेका थिए । यसमा सबैभन्दा कम कबोल गर्ने कल्पतरु छानिएको ज्ञवालीले जानकारी दिए । कल्पतरु ले करिब ९५ किमि लामो प्रसारण बनाउनेछ । उक्त प्रसारण लाइन कालीकोटको मान्मबाट सुरु भई अछाम, सुर्खेत हुँदै दोधारासम्म पुग्छ । निर्माणपछि यसले २२ सय मेगावाट बिजुली प्रसारण गर्न सक्छ ।

कर्णाली करिडोर प्रसारण लाइन निर्माणपछि यस क्षेत्रमा उत्पादन हुने बिजुली प्रसारणमा सहयोग पुग्ने कम्पनीले जनाएको छ । साथै देशमा गुणस्तरीय बिजुली खपत तथा निर्यातमा सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय