पुस १७,
प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ रेल निर्माण प्रक्रिया चाँडो सम्पन्न गर्न चीन सरकारसमक्ष अपिल गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटनपछि प्रधानमन्त्री दाहालले चीनको लगानीका ठूला परियोजनाहरुले नेपाली युवाहरुको रोजगारी र समृद्धिको आकांक्षा पूरा हुने बताए ।
’अहिले चीनले नाकाहरु खोल्ने र रेलवे निर्माणका लागि सर्वे प्रक्रिया अघि बढाएको छ । अन्य ठूला परियोजना अघि बढेको छ,’ दाहालले भने, ’म चीन सरकारसँग अपिल गर्न चाहान्छु यसलाई गति दिएर सम्पन्न गरेर नेपाली युवाहरुका लागि रोजगारी सिर्जना गर्ने र नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्ने सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्न चाहान्छु ।’



प्रधानमन्त्री दाहालले कार्यक्रममा अब पोखरा धेरै राष्ट्रसँग सिधै सम्पर्क गर्ने केन्द्र बनेको पनि बताए । यसले कास्की, गण्डकी प्रदेश र नेपालकै अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने सुनिश्चित रहेको उनको भनाइ थियो ।
दाहालले आफ्नो चीन भ्रमणको स्मरण गर्दै चिनियाँ नेतृत्वसँग पहिलो पटक चीन जाँदा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग र महासचिव तथा राष्ट्रपति सी चिनफिङसँग पनि पोखरा विमानस्थल निर्माणबारे चर्चा गरेको बताए ।
पोखरा विमानस्थल चिनियाँ ऋणमा निर्माण भएको परियोजना हो । योसहित नेपालमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल भएका छन् ।



