मंसिर १५
यहाँका उद्योगी–व्यवसायीहरुले आर्थिक क्षेत्रलाई चलायमान बनाउन मेला–महोत्सवको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनीहरुले कोरोना महामारीले थला परेको व्यापार–व्यवसायलाई माथि उकास्न पनि मेला–महोत्सव आयोजना गर्न जरुरी रहेको औल्याए । बिहीबार सिद्धार्थ उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को सचिवालय उद्घाटनमा बोल्दै उद्योगी–व्यवसायीले अहिलेको विषम् परिस्थितिमा मेला–महोत्सवको भूमिका अझै बढेको जनाए ।
नेपाल उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले यस क्षेत्रको आर्थिक विकासका लागि सिद्धार्थ उद्योग बाणिज्य संघले विगतदेखि नै निरन्तर मेला–महोत्सव आयोजना लगायत व्यवसाय प्रबद्र्धनका विभिन्न क्रियाकलाप गरेर भूमिका निर्बाह गर्दै आएको जनाए । ‘अहिले निजी क्षेत्र धरासायी छ, तर पनि संघले महोत्सव आयोजना गरेर आर्थिक गतिविधि चलायमान गराउने कोसिस गरेको छ’, अध्यक्ष शर्माले भने, ‘एकै थलोमा धेरै सामानहरुको खरिदविक्री हुँदा उपभोक्ता र व्यवसायी दुबैलाई सहज र सहयोग हुन्छ । यसबाट पुँजी बजारमा आउँछ भन्ने हाम्रो विश्वास छ ।’



उनले आयोजक एउटा संस्था भए पनि भैरहवामा लाग्न लागेको महोत्सव सबैको साझा भएकाले यसको अपनत्व सबै राजनीतिक दल, निजी क्षेत्र, उद्योगी–व्यवसायी, नागरिक समाज, तीन तहका सरकार र आम रुपन्देहीबासीले लिनुपर्ने बताए । शर्माले बेलहिया नाकाबाट भित्रिने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई पनि मेलास्थलसम्म ल्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
संघका पूर्वअध्यक्ष रामशंकर कान्दुले महोत्सवले उद्योग–व्यवसाय, कृषि, पर्यटन लगायत समग्र आर्थिक क्षेत्रको दिगो विकासमा केही न केही कोशेढुंगा सावित हुने जनाउँदै प्रचारप्रसारलाई व्यापकता दिनुपर्ने जनाए । ‘हामीले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर स्टलहरु राख्नुपर्छ, मेलामा आउनेले नयाँ कुरा खोजेको हुन्छ’, उनले भने, ‘दर्शकले खोजेको कुरा उपलब्ध गराउन र देखाउन सक्यौं भने पक्कै पनि मेला सफल हुन्छ ।’ उनले महोत्सवले भैरहवाको आर्थिक विकाससँगै यहाँको गरिमालाई उच्च राख्ने बताए ।
संघका पूर्वअध्यक्षहरु विष्णुप्रसाद शर्मा, कुलप्रसाद न्यौपाने, रामकुमार शर्मा, संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, महासचिव विजय पाण्डे लगायतले बोल्दै ग्रामीण क्षेत्रमा पनि प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने, मेला सफल बनाउन सबै एकजुट हुनुपर्ने, भैरहवाको परिवेश अनुसारका सांस्कृतिक कार्यक्रम र स्टलहरु राख्नुपर्ने, नौला र दर्शक आकर्षित हुने कार्यक्रमहरु ल्याउनुपर्ने बताए । उनीहरुले विगतमा भएका मेलाहरुबाट पाठ सिकेर यसपटक पनि मेला सफल पार्न लाग्नुपर्नेमा जोड दिए । मेला भैरहवा क्षेत्रको आर्थिक विकास र बजार चलायमान बनाउनका लागि महत्वपूर्ण कडी भएकाले सबैले भव्य र सभ्य बनाउन लाग्नुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले आर्थिक मन्दीकाबीच मेलालाई सफल र भव्य बनाउन संघले सक्दो प्रयास गरिरहेको जनाए । ‘यो हामी भैरहवाबासीको गरिमासँग जोडिएको महोत्सव हो’, उनले भने, ‘यसलाई सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्न जरुरी छ ।’ न्यौपानेले, कृषि, उद्योग, पर्यटन, खेलकुद, कलासंस्कृति, प्रविधि लगायतका क्षेत्रलाई समेटेर मेलामा स्टलहरु राखिने र यी क्षेत्रको प्रबद्र्धनमा विशेष जोड दिने बताए ।
भैरहवाको अंचलपुरमा मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म संचालन हुने उक्त महोत्सवमा विभिन्न उत्पादनका गरी २ सय ५० स्टलहरु रहने आयोजकले जनाएका छन् । मेलास्थलमा अहिले धमाधम संरचना निर्माणको काम भइरहेको छ । यस्तै मेलामा धेरै भन्दा धेरै दर्शक ल्याउन प्रचारप्रसारका कामलाई पनि तिव्रता दिइएको प्रचारप्रसार समिति संयोजक कृष्णप्रसाद घिमिरेले बताए । संघले बिहीबारदेखि मेलाका सम्पूर्ण काम मेलास्थलबाट संचालन गर्ने जनाएको छ । मेलास्थलमा सचिवालय संचालन आएसँगै सबै काम यहीबाट हुने घिमिरेले बताए । संघले आयोजना गरेको महोत्सव आठौं संस्करण हो । यसअघि सात पटकसम्म संघले सफलतापूर्वक महोत्सव सम्पन्न गरिसकेको छ ।



