कार्तिक ४
बैंक ब्याजदर एक अंक (१० प्रतिशत भन्दा कम) कायम गर्न माग गर्दै रुपन्देहीका ५० बढी उद्योगी व्यवसायीका संस्था सडक आन्दोलनमा उत्रिएका छन् ।
कोभिड–१९ ले थला परेर तङ्ग्रिन नपाउंदै बैंक ब्याजदरमा चर्को वृद्धिले उद्योग व्यवसाय धराशायी हुन लागेको भन्दै कर्जाको ब्याजदर एक अंकमा झार्न भन्दै त्यसको बिरोधमा शुक्रबार भैरहवामा बिरोध प्रदर्शन गर्दै प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन् ।



रुपन्देहीमा क्रियाशील व्यवसायिक संघसंस्थाहरुको संजालले भैरहवाको बुद्ध चोकबाट बिरोध र्र्याली निकाली नारायण स्थान, प्रहरी टोल, मिलन चोक, बैंकरोड हुँदै देवकोटा चोकको परिक्रमा गरेको थियो ।
बिगत तीन वर्षदेखिको कोभिड–१९ को प्रभावबाट उम्किन नपाउँदै बैंक तथा बित्तीय संस्थाहरुले अत्यधिक चर्को व्याजदर कायम गर्दा उद्योग–व्यवसायी मारमा परेको व्यवसायीले बताएका छन् । बैंक तथा बित्तीय संस्थाहरुले पुँजी तरलताको अभाव भन्दै कर्जा प्रवाहमा कडाइ गर्ने र अर्कातर्फ व्याजदर चर्को गरउँदा उद्योग–व्यवसाय धरासायी बन्दै गएको उनीहरुको भनाइ छ ।
लामो समयको कोभिड प्रभावबाट उद्योग व्यवसायलाई बचाउनका निम्ति सरकारले कर्जा प्रबाह र सहुलियत व्याजदर कायम गरिनु पर्ने भनेर व्यवसायीले बारम्बार माग गरिरहँदा पनि बेवास्ता गरिएको कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा हालै लागु गरिएको चालु पुँजी कर्जा निर्देशिका, २०७९ को प्रभावले व्यवसायी आन्दोलित बनेको र उक्त निर्देशिकाको असर स्वदेशी उत्पादन र राष्ट्रिय अर्थतन्त्रमा समेत पर्ने भएकाले उक्त चालु पुंजी निर्देशिका तत्काल खारेज गरिनु पर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।
हाल कायम गरिएको उच्चतम व्याजदर र विभिन्न सेवा शुल्कहरु पनि तत्काल पुनरावलोकन गर्न पनि माग गरिएको छ । कर्जाको व्याजदर एक्लो अंकमा कायम गर्न उनीहरुले नेपाल राष्ट्र बैंकसँग माग गरेका छन् ।



