कार्तिक ४
उत्पादनका आधारमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई नगद अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको थियो । नगरपालिकाले पाँच वर्षदेखि पशु बीमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको छ ।



अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको नगर प्रमुख रामकृष्ण खाँणले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँको दरले अनुदान दिने गरी बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले दुग्ध उत्पादक सहकारीमार्फत् किसानलाई अनुदान दिने व्यवस्था मिलाएको हो । किसानले एक वर्षमा जति लिटर दूध सहकारीमार्फत् बिक्री गर्छन् सोहीअनुसार अनुदान प्राप्त गर्ने उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । अनुदानलाई व्यवस्थित बनाउन सरोकारवालाहरुसँगको परामर्शमा नगरपालिकाले प्रोत्साहन रकम वितरण कार्यविधि जारी गरेको छ ।
तिलोत्तमामा हाल २० वटा दुग्ध उत्पादक सहकारीहरु मध्ये बिहीबार अनुदान पाउनेमा १३ वटा सहकारी छन् । नगरपालिकाले आर्थिक वर्ष ०७८–७९ को दूध संकलन विवरणको आधारमा दूध उत्पादन अनुदान वितरण गरेको हो । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष ४० लाख ५१ हजार पाँच सय ५६ रुपैयाँ मध्ये रित नपुगेका किसानलाई थाती राखी ३२ लाख ३५ हजार ६ सय ७० रुपैयाँ किसानलाई उपलब्ध गराएको छ ।
विभिन्न १३ वटा सहकारीले बिहीबार अनुदान रकम प्राप्त गरेका छन् । बाँकी ७ सहकारीले आवश्यक प्रक्रिया पूरा गरेपछि अनुदान रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा तिलोत्तमाका सहकारीले कुल ४५ लाख लिटर दुध संकलन गरेका थिए । तिलोत्तमामा वार्षिक ५० लाख लिटर बढी दुध उत्पादन हुने गर्दछ । तर, घरबाटै बिक्रि गरिने दुधको तथ्यांक अनुदानमा नआउने भएकाले यो संख्या घटेको देखिन्छ ।
सहकारीमार्फत् तीन हजार बढी किसानले दुध बिक्री गर्ने गरेको र २७ केन्द्रमा दुध संकलन हुने गरेको सहकारीले उपलब्ध गराएको तथ्यांकमा जनाइएको छ । सहकारीले अनुदान रकमलाई किसानलाई भुक्तान गरी त्यसको भर्पाइ विवरण नगरपालिकालाई बुझाउनुपर्नेछ । यो व्यवस्थाले तल्लो तहका किसानमा समेत अनुदानको पहुँच पुग्ने नगरपालिकाको विश्वास छ । ‘सहकारी संस्थाहरुको पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको आधारमा किसानलाई नगद अनुदान दिनेगरी व्यवस्था गरेका छौं,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले भने, ‘अनुदानले दूध उत्पादन बढाउन किसानलाई प्रोत्साहन मिल्ने छ ।’
केन्द्रिय दुग्ध सहकारी संघ नेपालका सदस्य तथा गोकुल दुग्ध सहकारी संस्थाका अध्यक्ष हरी प्रसाद काफ्लेले गरीब किसानलाई समेत पुग्ने गरी नगरपालिकाले गरेको अनुदान व्यवस्था अत्यन्त प्रशंसनीय रहेको बताए । कार्यक्रममा बोल्दै जिल्ला दुग्ध सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेले नगरपालिकाले किसानका लागि प्रोत्साहन गर्ने योजना बजेट ल्याउनु सह्रानीय कार्य भएकाले सबै किसानले नगरपालिकाले ल्याएको योजनामा सहभागी हुन आग्रह गरे । नगरपालिकाले गाईभैँसीको गोठ सुधार, घाँसखेती, पशुको कृत्रिम गर्भाधान, पशु खोपलगायतका कार्यक्रम पनि चलाइने पशु शाखा कार्यालय तिलोत्तमाका प्रमुख राजु कुँवर मगरले बताए ।



