असोज ३१
– रुपन्देहीको सियारी गाउँपालिकास्थित मैनहियामा उद्योग रहेको अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्नो उत्पादन भारत निर्यात सुरु गरेको छ । सोमबारदेखि उद्योगले रुपन्देहीको बेलहिया नाका हुँदै सिमेन्ट भारत निर्यात सुरु गरेको हो । भारतको आनन्दनगर र नौतनवा स्थित सुभांसु एशोसियट डिलरलाई एक सय टन (एक हजार चार सय बोरा) सिमेन्ट निर्यात गरिएको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए ।



सरकारले ५० करोड भन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने घोषणा गरेको थियो । त्यसपछि विभिन्न उद्योगले भारतीय बजारमा आफ्नो उत्पादन निर्यात सुरु गरेका छन् । यसअघि तानसेन सिमेन्ट र श्री स्टील्सले आफ्नो उत्पादन भारत निर्यात सुरु गरेका थिए । सोमबारदेखि अर्घाखाँचीले पनि पीपीसी सिमेन्ट निर्यात सुरु गरेको हो । सरकारले ५० करोड भन्दा कम निर्यात गर्ने उद्योगलाई भने ४ प्रतिशत मात्रै अनुदान दिने जनाएको छ ।
अर्घाखाँचीका उत्पादन ओपीसी र पीपीसी ब्राण्डको सिमेन्टले भारतीय गुणस्तर चिन्ह पाइसकेका छन् । भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्टको उत्पादनलाई गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात गर्न सुरु गरिएको हो ।
भारतमा आइएसआई मार्क नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न नमिल्ने व्यवस्था छ । कम्पनीले भारतबाट असोज पहिलो साता आइएसआई मार्क पाएपछि सिमेन्ट निर्यात गर्न सुरु गरेको जनाएको छ । उद्योगका संचालक पशुपति मुरारकाले आजको दिन ऐतिहासिक भएको बताए ।
‘मेरो जीवनको आज अत्यन्तै ऐतिहासिक र खुशीको दिन हो, हाम्रो उत्पादन भारतीय बजारमा जान सुरु गरेको छ’, उनले भने, ‘यसले मुलुकको अर्थतन्त्रमा ठूला टेवा पुग्ने विश्वास छ । अर्कातर्फ निर्यातको वातावरण बनाउने सरकार धन्यवादको पात्र हो ।’ उनले भारतीय सिमेन्ट जत्तिको नेपाली सिमेन्ट गुणस्तरीय रहेको जनाउँदै सरकारले अनुदानलाई प्रभावकारी बनाए प्रतिस्पर्धाका लागि कुनै समस्या नहुने बताए । ‘हामी बिगत ६ महिनादेखि हाम्रो सिमेन्ट भारत निकासीको पर्खाइमा थियौं । अन्ततः सफल भएका छौं’, मुरारकाले भने ।
अर्घाखाँची सिमेन्टको दैनिक उत्पादन क्षमता २ हजार २ सय टन छ । उद्योगले क्लिंकरसमेत उत्पादन गर्दै आएको छ । क्लिंकर पनि निर्यात गर्न सक्ने आफूहरुको क्षमता रहेको उद्योगीले जनाएका छन् । ‘हामीले सरकारी कार्यविधि पूर्णरुपमा लागू भएमा उत्पादनको अधिकांश हिस्सा भारतीय बजारमा निर्यात गर्न सक्छौं’, उद्योगका प्रबन्ध निर्देशक अग्रवालले भने । उनका अनुसार भारतको उत्तरप्रदेश, बिहार र पश्चिम बंगालमा सिमेन्ट उद्योग र चुनढुंगा पनि छैन । यसले गर्दा पनि नेपाली सिमेन्ट भारतीय बजारमा प्रतिस्पर्धी बन्ने छ ।
भारतका यी तीन प्रदेशमा भारतीय सिमेन्ट ल्याउनै करिब एक हजार किलोमिटर दूरी पर्छ । ‘त्यसैले हामीले नेपालबाट करिब ५ सय किलोमिटर परसम्मको भारतीय बजारसम्म सिमेन्ट निर्यात गर्न सक्यौं भने पनि ठूलो फाइदा हुनसक्छ’, मुरारकाले भने, ‘गुणस्तर राम्रो र लागत पनि उस्ताउस्तै भएकाले प्रतिस्र्धा गर्न सक्छौं ।’ उनका अनुसार भारतीय सिमेन्ट र अर्घाखाँची सिमेन्टको मूल्यमा भारतीय बजारमा खासै फरक छैन । नेपाली सिमेन्ट उल्टै केही सस्तो पर्छ ।
उद्योगीका अनुसार सरकारले असोज ७ गते निर्यात अनुदान सम्बन्धी कार्यविधि संशोधन गर्दै वार्षिक ५० करोड रुपैयाँ भन्दा बढी निर्यात गर्ने उद्योगलाई ७ प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको छ । ३० प्रतिशत मूल्यवृद्धि गर्दै निर्यात हुने ३६ प्रकारका बस्तुमा ४ प्रतिशत नगद अनुदान दिने गरी सरकारले कार्यविधि संशोधन गरेको छ । यसले उद्योगीलाई हौसला मिलेको छ ।



