असोज ३
नेपालीहरुको महान चाड दसैंको अवसर पारेर सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले भैरहवामा ‘दसैं सस्तो बजार’ संचालन गर्ने भएको छ । असोज ११, १२, १३ र १४ गते गरी चार दिनसम्म संघले सस्तो बजार संचालन गर्न लागेको हो ।
सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी संघले नेपाली उपभोक्तालाई स्वदेशमै खरिद गर्ने बानीको विकास गर्न र सस्तो दरमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यसहित सस्तो बजार संचालन गर्न लागिएको जानकारी दिएको हो । दसैं सस्तो बजार संघको कार्यालय परिसरमा संचालन हुनेछ ।



संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले विभिन्न उद्योग तथा ब्यापारिक प्रतिष्ठानहरुको सहभागिता रहने गरी दसैं बजारमा साल्ट ट्रेडिङ, खाद्यन्न, जुत्ता, चप्पल, दुई पाङ्ग्रे अटोमोबाइल्स सहितका १५ देखि १७ वटा स्टलहरु रहने बताए । ‘चार दिनको हाम्रो यस प्रयासबाट केही हदसम्म भए पनि भैरहवा बजारमा आर्थिक चलायमान हुने, स्वदेशी उद्योग व्यवसायका उत्पादनहरुको प्रचारप्रसार हुने र आम उपभोक्ताहरुले सर्वसुलभ रुपमा उपभोग्य वस्तुहरु खरिद गर्ने अवसर प्राप्त गर्नुहुनेछ’, न्यौपानेले भने ।
उक्त दसैं बजारमा स्थानीय भैरहवा बजार क्षेत्रबाट करिब दुई हजार ५ सयको संख्यामा उपभोक्ता तथा अवलोकनकर्ताहरुको आवागमन हुने अपेक्षा गरिएको उनले बताए । ‘यस अबधिमा करिव ४० देखि ५० लाख रुपैयाँ बराबरको कारोबार हुने हाम्रो अनुमान छ’, अध्यक्ष न्यौपानेले भने ।
संघका बरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले सीमा क्षेत्रको बजार भएकाले खरिदारीका लागि भारततर्फ जाँदा भैरहवाको बजार गुल्जार हुन नसकेको बताए । ‘यसलाई चिर्न र सस्तोमा गुणस्तरीय सामान उपभोक्तालाई उपलब्ध गराउन दसैं बजार संचालन हुन लागेको हो’, श्रेष्ठले भने, । संघका उपाध्यक्ष नेत्रप्रसाद आचार्य र महासचिव विजय पाण्डेले जतिसक्दो स्वदेशमै किनमेल गर्न उपभोक्तालाई आग्रह गरे ।
संघका सदस्य एवं बस्तुगत मेला प्रदर्शनी तथा व्यवसाय प्रवद्र्धन उपसमिति संयोजक अर्जुन कार्कीले भारतीय बजार सुनौलीमा गएर खरिद गर्ने उपभोक्तालाई रोक्न र स्वदेशी व्यवसायीको प्रबद्र्धन गर्ने लक्ष्यसाथ सस्तो बजार संचालन गर्न लागिएको जनाए । यसले मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने उनको भनाई छ । दसैं बजार बिहान १० बजेदेखि साँझ साढे ७ बजेसम्म संचालन हुने छ ।
सस्तो बजारमा खरिद गर्ने उपभोक्ताहरुका लागि ५ देखि २० प्रतिशतसम्म छुट सुविधा दिने संघले जनाएको छ । रुपन्देहीका उद्योगी, ब्यवसायीहरुको पेशागत हकहित र अधिकारका लागि समर्पित संघ वि.सं. २०११ सालमा स्थापित भएको हो । संघले पहिलोपटक वि.सं. २०५८ साल कार्तिक १ देखि ६ गतेसम्म भैरहवा उच्च मावि परिसरमा र कार्तिक २४ गतेदेखि २६ गतेसम्म संघ परिसरमा दसंै बजार संचालन गरेको थियो । यस्तै, दोस्रोपटक वि.सं. २०५९ साल असोज २१ गतेदेखि २६ गतेसम्म संघ परिसरमा दसंै बजार संचालन गरेको थियो ।



