भारतबाट आयातित माछा बिक्रीमा प्रतिबन्ध

२०७९ आश्विन २, आईतवार
पढ्ने समय : < 1 मिनेट

असोज २,
झापा जिल्लाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ।

जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो। बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र माईपूर्व (बुद्धशान्ति, बिर्तामोड, कनकाई, अर्जुनधारा, कचनकवल, झापा गाउँपालिका)का पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूको भेलाले भारतबाट आयात गरिने मरेका माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरेको छ।

बजार अनुगमनका क्रममा अस्वस्थकर मरेका माछा बिक्री वितरण भइरहेको पाइएपछि आ–आफ्नो पालिकामा मरेका भारतीय माछा बिक्रीमा रोक लगाउने निणर्य गरिएको बिर्तामोड नगर प्रमुख प्रसाईले जानकारी दिए।

त्यस्तै आ–आफ्नो पालिकामा माछा, मासु, तरकारी तथा खाद्यान्न लगायतका वस्तु बिक्री–वितरणको नियमित अनुगमन गर्न कृषि वा पशु सेवा शाखाको नेतृत्वमा बजार अनुगमन गर्ने संयन्त्र र कार्य प्रणाली बनाई कार्यान्वयन गर्ने, आ–आफ्नो पालिकामा खाद्यान्नको गुणस्तर, स्वच्छता, अखाद्य वस्तुको मिसावट, नक्कली उत्पादन जस्ता विषयमा सघनरूपमा बजारको अनुगमन गर्ने र सर्वसाधारण लाई सो विषयमा सचेत गराउन कार्ययोजना बनाएर लागू गर्ने पनि निर्णयसमेत गरिएको छ।

यस्तै पालिकाहरूले कृषि उत्पादनको प्रेस्टिसाइज्ड मापनका लागि पालिकाहरूले आपसी सहकार्यमा विषादी परीक्षणका लागि ल्याबको व्यवस्थापन गरी परीक्षण गर्ने व्यवस्था मिलाउने, कृषिजन्य उत्पादनमा विषादी न्यूनीकरण गर्न सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालय समेतको समन्वयात्मक भूमिकालाई अगाडि बढाउने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय