आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत निरौलालाई उद्योग व्यापार संगठन द्धारा स्वागत

२०७९ आश्विन १, शनिबार
पढ्ने समय : 2 मिनेट

असोज १
उद्योग व्यापार संगठन, रुपन्देहीले आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलालाई स्वागत गरेको छ । हालै मात्र सरुवा भइ आन्तरिक राजस्व कार्यालय भैरहवामा प्रमुख कर अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका निरौलालाई शनिबार स्वागतका साथै परिचयात्मक कार्यक्रम गरिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।
सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत निरौलाले कोभिड लगायतका कारणले व्यवसायी पीडित भएको आफूहरुलाई महसुस भएको बताए । उनले व्यवसायी र आन्तरिक राजस्व कार्यालयबीच नङ र मासुको सम्बन्ध रहेको बताए । उनले भने, ‘सधै सहकार्य, समन्वय र छलफल गर्दै समस्या समाधानका लागि अघि बढ्छौं, मिलेर अगाडि बढौं । ’ प्रमुख कर अधिकृत निरौलाले करदाता शिक्षा कार्यक्रम तथा तालिममा व्यवसायीहरु सहभागी हुनुपर्ने बताए । उनले भने, ‘साना व्यवसायीले घरमै बसेर कर तिर्न सक्नुहुन्छ, विगत भन्दा कर तिर्न अहिले सजिलो छ । ’ उद्योगी व्यवसायीको साथ आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले संगठनले सरकारी कार्यालयसँग सहकार्य गर्दै अगाडि बढेको बताए । उनले कोभिड–१९ का कारण उद्योग व्यवसायमा प्रभाव परेको बताए । अध्यक्ष ज्ञवालीले संगठन र आन्तरिक राजस्व कार्यालयबीच सुमधुर सम्बन्ध हुने विश्वास व्यक्त गरे ।
संगठनका निवर्तमान अध्यक्ष तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले केही जानकारीको अभावमा कतिपय व्यवसायीले दुःख पाउनुभएको बताए।
संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले सबै व्यवसायीले कर तिरे धेरै राजस्व संकलन हुने बताए । उनले सुरुको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको बताए ।
संगठनका सल्लाहकार दीपक कुंवरले व्यवसायी कर कार्यालयको साथमा रहेको बताए । उनले सीमा पारी दैनिक करौडौंको कारोबार हुने गरेको बताए । सल्लाहकार फैज अहमद खानले बैंक ब्याजदर बढ्दै जाँदा व्यवसायी मारमा परेको गुनासो गरे । उनले सम्पूर्ण व्यवसायीलाई करको दायरामा ल्याउनुपर्ने माग गरे ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश बेल्बासेले करको दर भन्दा दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिए । उनले कोभिड–१९ का कारण पर्यटन व्यवसायी धरासायी भएको बताए ।
मदिरा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष केशवराज ज्ञवालीले किराना पसलमा समेत मदिरा विक्रीवितरण भइरहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपानेले खुल्ला सीमा भएकाले नाकामा कडाइ गर्नुपर्ने माग गरिन् ।
उद्योग व्यापार संगठन रुपन्देहीका कार्यसमिति सदस्य सन्तोष शुक्लाले धान चामल निर्यातमा भारत सरकारले लगाएको २० प्रतिशत निर्यात शुल्कले स्वदेशी उद्योगी व्यवसायीसँगै आम उपभोक्ता मारमा पर्ने बताए ।
किराना व्यवसायी झबिन्द्र बेल्बासेले कर तिर्न सहज वातावरण बनाउनुपर्ने बताए । उनले कर तिर्न प्रोत्साहन गर्नका निम्ति वडावडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
उद्योग व्यापार संगठन रुपन्देहीका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीको स्वागत, कोषाध्यक्ष राम मिलन यादवको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय