भदौ १३
भारतीय सहयोगमा सुनसरीका दुईवटा विद्यालयका भवन निर्माण कार्य सम्पन्न भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल पुलिस स्कुल र महेन्द्र माध्यमिक विद्यालयका भवन उद्घाटन गरेका छन्।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको ४ करोड ८९ लाख रुपैयाँ अनुदान सहयोगमा जिल्ला समन्वय समिति सुनसरीले यी दुई उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत विद्यालय निर्माण सम्पन्न गरेको हो। भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरूमध्येको एक हो।
भारतीय राजदूतावासका अनुसार सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूअघि बढाएको छ । यीमध्ये स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन्। सुनसरी जिल्लामा मात्रै १२परियोजना छन्। प्रदेश नम्बर १ मा ८० वटा भारतीय योजना छन्।






