नाकामा पटक–पटक चिनियाँ अवरोध ः सहज बनाउन के पहल गर्दैछ सरकार ?

२०७९ भाद्र १०, शुक्रबार
पढ्ने समय : 2 मिनेट

भदौ १०,

कोरोना महामारीलाई कारण देखाउँदै आयात–निर्यातलाई नै लामो समयदेखि रोकेको चीनले फेरि नाकामा अवरोध सिर्जना गरेको छ । चीनले तिब्बतमा कोरोना बढेको बताउँदै नेपालतर्फका व्यापारिक नाका पूर्णरूपमा बन्द गरेको हो । चीनले विगत १० दिनदेखि नेपाल–चीन व्यापारिक नाका तातोपानी र रसुवा बन्द गरेको हो ।
एकतर्फीरूपमा नाका बन्द गर्दा चीनबाट नेपालतर्फ आइरहेका सयौं कन्टेनर अलपत्र परेका छन् । तातोपानी नाकाबाट पछिल्लो समय चीनले दैनिक १० वटा कन्टेनर पठाइरहेको थियो । चीनले नाकामा पूर्ण नियन्त्रण गर्दै कोटा तोकेर उक्त संख्यामा कन्टेनर पठाइरहेको थियो । तर, एक्कासी नाका बन्द भएको घोषणा गर्दा नेपाल आइरहेका करोडौं रुपैयाँको सामान बोकेका कन्टेनर चीनमै फसेका छन् ।

तातोपानी नाकातर्फ आइरहेका करिब १०० वटा कन्टेनर चीनमै फसेको हुन सक्ने भन्सार प्रमुख नारद गौतमले जानकारी दिए । उनले लसुन र स्याउ जस्ता बिग्रने वस्तु बोकेका कन्टेनर नै अड्किँदा नेपाली व्यवसायीले करोडौं रुपैयाँको घाटा व्यहोर्नुपर्ने बताएका छन् ।

 

‘व्यवसायीहरूसँग कुरा गर्दा सामुन्द्रिक मार्ग हुँदै सामान ल्याउन थालेको बताउन थालेका छन्, यताबाट आयात नमिल्ने भएपछि समुन्द्रीमार्ग रोज्न थालेका छन्,’ गौतमले भने।
यसैगरी, रसुवा नाकातर्फ पनि सयौं कन्टेनर अलपत्र परेका छन् । तातोपानी नाकाको तुलनामा चलायमान रहेको रसुवा नाकाबाट दैनिक १५–२० कन्टेनर सामान नेपाल आउँथ्यो । जुन, अहिले रोकिएको भन्सार विभागले जानकारी दिएको छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नेपाल–चीन व्यापार २०७२ सालको भूकम्पदेखि नै समस्यामा रहेको बताए । उनले यो समस्या व्यवसायिक तहबाट समाधान गर्न नसकिने भएकाले सरकारले उच्चस्तरीय कुटनीति प्रयोग गरेर नाका खुलाउनु पर्ने बताए ।
‘सरकारले नै समाधान गर्नुपर्छ तर, विगत ८ वर्षदेखि निरन्तर अवरोध भइरहँदा सरकारले समेत समाधान गर्न नसक्ने हो कि भन्ने देखिएको छ, चीनतर्फ सामान रोकिँदा दशैं र तिहार लक्षित सामाग्रीको आयात रोकिएको छ । जसले बजारमा मँहगीदेखि अभाव सिर्जना गर्छ,’ अध्यक्ष मल्लले भने ।

चीनले विगत १० दिनदेखि नाका बन्द गरेपछि चीनस्थित नेपाली दूतावास भने अवरोध खुलाउन सक्रिय भएको छ । चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले नाकाको अवरोध खुलाउन निरन्तर प्रयास भइरहेको बताए ।

यस्तै, श्रेष्ठले ल्हासामा रहेको महावाणिज्य दूतावासमा समेत निरन्तर छलफलमा रहेको बताए । चीनले चाडपर्वअघि नाका बन्द गर्दा तातोपानी र रसुवा नाका मा गरी २ अर्ब रुपैयाँभन्दा बढीको सामान फसेको व्यवसायीहरूले बताएका छन् । सो सामान खुलाउनका लागि दूतावास निरन्तर पहल गरिरहेको राजदूत श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय