उत्तरी नाका बन्दले नाडा ईभी शोमा असर, चीनमै रोकिए विद्युतीय गाडी

२०७९ भाद्र ७, मंगलवार
पढ्ने समय : 2 मिनेट

भदौ ७ ,
सरकारले एलसी बन्द गर्दा प्रस्तावित अटो शो नै स्थगित गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)लाई फेरि अर्को अप्ठ्यारो परेको छ।
चीनले एक्कासि उत्तरी नाका बन्द गरेपछि नाडा ईभी शो गर्न तम्तयार नाडालाई अर्को समस्या आइलागेको हो।
नाडा ईभी शो आगामी असोज ६ का लागि तय भइसकेर व्यवस्थापनका कामहरु भइरहेका छन्।

चीनमा उत्पादन हुने विद्युतीय गाडी उत्तरी नाका हुँदै नेपाल आउने गरेका छन्। साउन अन्तिम हप्ता नेपालका परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमै रहेका बेला विना जानकारी चिनियाँ पक्षले नाका बन्द गरेको थियो।

उत्तरी नाकाबाट नेपालमा वस्तु आयात गर्दा समय र लागत कम हुँदा व्यवसायी उत्तरी नाकाबाट समान ल्याउने गरेका छन्।

चीनमा उत्पादन हुने विद्युतीय गाडी उत्तरी नाका हुँदै आउने गरेका छन्। बीवाईडी, एमजी, नेटा भी, दिगो ई ८ लगायतका गाडी उत्तरी नाका हुँदै आउन थालेका थिए।

गत आर्थिक वर्षमा कुल १८ सय ७ वटा विद्युतीय गाडी भित्रिएकोमा ८२३ गाडी चीनबाट भित्रिएका छन्। जसमा १०० किलोवाटसम्मका १६७ र १०० देखी २०० किलोवाटसम्म ६५६ वटा गाडी आयात भएका छन्। व्यवसायीका अनुसार उत्तरी नाकाबाट गाडी ल्याउदा १५ दिनमै नेपाल ल्याउन सकिन्छ भने समुद्रको बाटो हुँदै ल्याउँदा २ महिना बढी लाग्छ।

अटो व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसनले भदौ पहिलो हप्ताबाट गर्ने तयारी गरेको अटो शो गाडी आयात प्रतिबन्धको कारण स्थगित गरेको थियो। अहिले फेरि नाडाले पहिलो पटक ईभी अटो शोको तयारी गरिरहँदा उत्तरी नाका बन्दले नराम्रो प्रभाव पर्ने देखिएको छ।

भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले कोभिड लगायतको कारणले उत्तरी नाका बन्द भएको बताए।

‘कोभिडलगायतको कारणले उत्तरी नाका बन्द भएको जानकारी आएको छ’, खड्काले भने, ‘नाका कहिले खुल्ने भन्न सकिने अवस्था छैन।’

अटो व्यवसायीले नाका बन्द हुँदा उत्तरी नाकाबाट बीवाईडीलाई अप्ठ्यारो पर्ने बताएका छन्।

चीनले अचानक उत्तरी नाका बन्द गर्दा अटो शो लक्षित गाडी रोकिएको साइमेक्स इंकले जनाएको छ। बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकले अट्टो ३ सार्वजनिक गर्ने तयारी गरे पनि नाकामा गाडी रोकिँदा समस्या रहेको जानकारी दिएको छ।

साइमेक्स इंककी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले उत्तरी नाका बन्द हुँदै सबै गाडी रोकिएको बताइन्।

‘नाडा अटो शोमा के–के हुन्छ भन्न सकिने अवस्था छैन’, श्रेष्ठले भनिन्, ‘नाडामा हाम्रो स्टल हुन्छ तर नाका नखुल्दा कुन कुन गाडी रहन्छ भन्न सकिने अवस्था छैन।’

बीवाईडीले अट्टो ३ सार्वजनिक गर्ने तयारी गरेको थियो। अट्टो ३ एकपटकको चार्जमा ४२० किलोमिटरसम्म कुद्छ।

‘नाडा ईभी अटो शो अघि नै गाडी सार्वजनिक गर्ने तयारी गरेका थियौं,’ श्रेष्ठले भनिन्, ‘नाका बन्द हुँदा गाडी नाकामै रोकिए।’

बीवाईडीको हाल ई६ मोडल बिक्री गर्दै आएको छ। बजारमा ई६ को पनि स्टक नरहेको कम्पनीले जनाएको छ। चिनियाँ नाकाबाट एमजीको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्सले गाडी आयात गर्दै आएको थियो।

तर सरकारले बजेटमार्फत १०० किलोवाट माथिकामा कर बढाएसँगै एमजीले विद्युतीय गाडी ल्याउनै रोकेको छ। एमजीले मोटरको पावर परिवर्तन गरेर नेपाल भित्र्याउने प्रयास गरिरहेको छ।

चिनियाँ ब्रान्ड नेटाभीको आधिकारिक बिक्रेता सिजी मोटर्सको पनि नेपाली बजारमा उपस्थिति छ। नेटा भीले पनि उत्तरी नाका हुँदै विद्युतीय गाडी भित्राएको थियो। दीगो गु्रपले नेपालमा चिनियाँ विद्युतीय गाडीको बिक्री गर्दै आएको छ। दीगोको ई ८ विद्युतीय कारसँग कमर्सियल गाडी बिक्री भइरहेका छन्।

नाडा ईभी एक्स्पोको स्टल व्यवस्थापनको काम भइरहेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आउँदो असोज ६ गतेदेखि ९ गतेसम्म आयोजना हुने शो काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ।

नाडा अटो शोका संयोजक अनुप बरालले उत्तरी नाका खुलाउने विषयमा छलफल भइरहेको बताए। उनले नाका नखुलेको अवस्थामा पनि नाडा ईभी अटो शो हुने जानकारी दिए।

नाडा ईभी अटो शोमा इलेक्ट्रिक कार, बाइक, इलेक्ट्रिकलाई कमर्सियल भेहिकल, इलेक्ट्रिक रिक्सा, चार्जिङ स्टेसन एन्ड चार्जिङ सलुसन, विद्युतीय गाडीमा आवश्यक पार्टस् उत्पादक, ब्याट्री स्टोरेज म्यानेजमेन्ट, ब्याट्री म्यानेजमेन्ट सिस्टम, टायर उत्पादक, लाइट एण्ड ग्लास उत्पादकको नाडा अटो ईभी शोमा उपस्थिति रहनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय