साउन १२
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईनले नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने चेतावनी दिनुभएको छ ।
बुधबार प्रतिनधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईनले नारायणगढ–बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको भन्दै एक पटक पुनः निर्देशन गर्ने र नमाने ठेक्का रद्ध गर्ने चेतावनी दिनुभएको हो ।



उहाँले आयोजनाको ठेक्का रद्ध गर्दा लागत बढ्ने लगायतका जटिलता भोग्नुपरे पनि उपलब्धीमुलक निर्माण हुन नसके ठेक्का तोड्ने बताउनुभयो । मन्त्री राईनले सडक विभागका महानिर्देशक र सचिवलाई सांसदहरुले चासो राखेर जिज्ञासा गरेका आयोजनाको तत्काल समाधान गर्नपनि निर्देशन दिनुभयो । उक्त सडक कुल लागतमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने र बाँकी रकम नेपाल सरकारले व्यहोर्ने गरी सडक विस्तारको काम सुरु भएको हो । सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँमा चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले जिम्मा पाएको थियो ।
एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । गैँडाकोट–दाउन्ने सडक खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ अनुमान गरिएको छ । अहिलेसम्म गैँडाकोट–दाउन्ने सडक खण्डमा १ अर्ब ३० करोड अर्थात् १३ प्रतिशत खर्च भएको इन्जिनियर ढकालले बताए । दाउन्ने–बुटवल खण्डमा भने यो वर्षका लागि आएको २ अर्बमध्ये ८५ करोड खर्च भएको छ ।



