भारतीय प्रधानमन्त्री मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकोमा चीन असन्तुष्ट

२०७९ असार २५, शनिबार
पढ्ने समय : 2 मिनेट

असार २५,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार तिब्बती निर्वासित धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिँदै ट्वीट गरेका छन। । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमा लेखेका छन् ः ‘ फोनमा परम पुज्य दलाई लामालाई उहाँको ८७ औं जन्मदिनको शुभकामना दिएँ । हामी उहाँको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दछौं ।’ भारतका प्रधानमन्त्रीले दलाई लामासँग फोन वार्ता गरेको कुरा सार्बजनिक भएपछि चीनले असन्तुष्टि जनाएको छ ।
भारतीय प्रधानमन्त्री तथा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दलाई लामालाई दिएको बधाईबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने –‘भारतले १४औं दलाई लामाको चीनविरोधी पृथकतावादी प्रवृत्तिलाई पूर्ण रूपमा स्वीकार गर्नुपर्छ र तिब्बतसँग सम्बन्धित मामिलामा चीनसँग गरिएका प्रतिबद्धताहरू पालना गर्नुपर्छ । ’
उनले अगाडि पनि यस विषयमा बोल्ने क्रममा भने –‘तिब्बतसँग सम्बन्धित मुद्दाहरू प्रयोग गरेर भारतले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन । साथै उसले यस विषयमा सचेत भएर बोल्नुपर्छ र त्यसरी नै कदम चाल्नुपर्छ ।’
चीनको यो टिप्पणीप्रति भारतले पनि प्रतिक्रिया दिएको छ । भारतले आफ्नो जवाफमा दलाई लामालाई भारतमा सम्मानित अतिथिको हैसियत रहेको र उनी भारतमा ठूलो संख्यामा अनुयायी भएका सम्मानित धार्मिक नेता भएको भनेको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यस विवादमा स्पष्टिकरण दिदै भने ,‘ परमपूज्य दलाई लामालाई आफ्नो धार्मिक र आध्यात्मिक गतिविधिको लागि पूर्ण स्वतन्त्रता छ । भारत र विश्वभरका धेरै अनुयायीहरूले दलाई लामाको जन्मदिन मनाउँछन् । प्रधानमन्त्रीले ८७ औं जन्मदिनको अवसरमा दिनुभएको शुभकामनालाई यसै सन्दर्भमा हेर्नुपर्छ ।’
दलाई लामा सन् १९५९ मा तिब्बतबाट भागेर भारत पुगेका थिए । उनी भारत आएदेखि नै हिमाचल प्रदेशको धर्मशालामा रहेको बौद्ध विहारमा बस्दै आएका छन् ।
चीनले दलाई लामालाई पृथकतावादी नेता मान्छ ।
भारतमा दलाई लामाको गतिविधिलाई चीनले निरन्तर अनुगमन गर्ने गर्छ र चीनको विदेश मन्त्रालयले विगतमा पनि दलाई लामासँग जोडिएको विषयमा टिप्पणी गर्दै आएको छ ।
भारत र चीनबीच तनाव नभएको भए दलाई लामाबारे चीनले गरेको टिप्पणीलाई सामान्य मान्ने सकिने विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय