असार २३,
बुटवल–नारायणगढ सडक विस्तार कार्य सम्पन्न गर्ने म्याद एक महिनामात्र बाँकी रहँदा एक चौथाइ समेत काम हुन सकेको छैन। २०७५ सालमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम ४२ महिनामा सक्ने गरी सम्झौता भएको थियो । तर ४१ महिना बित्दा करिब १९ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
अबको एक महिना अर्थात् २२ साउनभित्र सक्ने गरी निर्माणको जिम्मा लिएको चिनिया कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्न निवेदन दिएको छ । तर सो निवेदनको विषयमा कुनै निर्णय नभएको सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर धिरज ढकालले बताएका छन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ८ चैत २०७५ मा उक्त सडक विस्तार कार्यको शिलान्यास गरेका थिए ।
११४ किलोमिटर सडक विस्तार गरी चार लेनको बनाए पछि बुटवलबाट नारायणगढको यात्रा डेढ घण्टाको हुने अपेक्षा गरिएको छ । नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । दुवै खण्डका अलग अलग कार्यालय स्थापना गरे पनि काम भने दुवैतिर सुस्त देखिन्छ । चिनियाँ कम्पनीले सडक विस्तारका लागि रुख कटान गरेको छ । भने विद्युत् पोल सार्ने र खानेपानी पाइप पर्ने ठाउँमा त्यसको व्यवस्थापन गर्ने काम भएको छ ।
बुटवल–बर्दघाट सडकखण्डमा पर्ने ४८ किलोमिटर सडकमा अहिले २० प्रतिशत काम भएको प्रमुख इन्जिनियर प्रदीप शाक्यले बताएका छन । उता बर्दघाट–गैँडाकोट क्षेत्रमा हालसम्म १८ प्रतिशत मात्र काम भएको छ ।



बुटवल–बर्दघाट सडक खण्डमा अहिले ८० वटा कल्भर्ट निर्माण भएका छन् । भने ५० वटा कल्भर्टका अधिकांश काम सकिएको छ । यो खण्डमा २४० वटा कल्भर्ट निर्माण गर्नुपर्ने प्रमुख इन्जिनियर शाक्यले जानकारी दिए ।
यस्तै, ९ वटा ठुलो पुल बनाउनुपर्नेमा ३ वटा बनिसकेको र अन्य ३ वटा पुलको अधिकांश काम सकिएको उनको भनाइ छ । यो खण्डमा ११ हजार मिटर नाली बनेको छ भने माटो भर्ने काम २४ किलोमिटर क्षेत्रमा भएको दाबी गरिएको छ ।
बर्दघाट–गैँडाकोट खण्डका सूचना अधिकारी इन्जिनियर धिरज ढकालका अनुसार साढे ५ किलोमिटरमा दुईतिरको साइट पूरा भएको छ। यस्तै १० वटा साना पुलको काम सकिएको छ भने अझै दुईवटा पुल बनाउन बाँकी छ । कल्भर्ट २१५ मध्ये १३१ वटा निर्माण भएका छन् । अरुण खोला, विनयी खोला लगायतका ठुला पुल निर्माणको काम आधाजसो भएको छ । सो खण्डमा पर्ने रुख कटानको काम करिब ९९ प्रतिशत सकिएको उनले बताए ।
कुल लागतमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने र बाँकी रकम नेपाल सरकारले व्यहोर्ने गरी सडक विस्तारको काम सुरु भएको हो । सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँमा चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले जिम्मा पाएको थियो ।
एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । गैँडाकोट–दाउन्ने सडक खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ अनुमान गरिएको छ । अहिलेसम्म गैँडाकोट–दाउन्ने सडक खण्डमा १ अर्ब ३० करोड अर्थात् १३ प्रतिशत खर्च भएको इन्जिनियर ढकालले बताए । दाउन्ने–बुटवल खण्डमा भने यो वर्षका लागि आएको २ अर्बमध्ये ८५ करोड खर्च भएको छ ।
निर्माण कम्पनीले रुख कटान, विद्युतको तार सार्न सरकारी प्रक्रियामा झमेला जस्ता कारण समयमै काम सम्पन्न हुन नसकेको जनाउँदै म्याद थपका लागि माग गरेको छ ।



