असार ३०
काठमाडौंस्थित चिनियाँ राजदूतावासमा नेपाली महिला उद्यमीहरूको एक प्रतिनिधिमण्डल र नेपालका लागि चिनियाँ राजदूतबीच भेटघाट तथा छलफल भएको छ।
राजदूत चाङ माओमिङसँगको भेटवार्तामा नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठसहितको टोली दूतावास पुगेको थियो। छलफलका क्रममा महिला सशक्तीकरण, आर्थिक विकासमा महिलाको भूमिका तथा नेपाल–चीनबीच व्यापार र आर्थिक सहकार्य विस्तारका सम्भावनाबारे विचार आदानप्रदान भएको जनाइएको छ ।
प्रतिनिधिमण्डलसँगको भेटपछि चिनियाँ राजदूतावासले सामाजिक सञ्जालमार्फत् महिला उद्यमीहरूसँग भएको भेट फलदायी रहेको जनाएको छ। राजदूतावासले महिला सशक्तीकरणका साथै नेपाल र चीनबीच आर्थिक तथा व्यापारिक सहकार्यका अवसरहरूबारे सकारात्मक छलफल भएको उल्लेख गरेको छ।
दुवै पक्षले महिला उद्यमशीलताको विकास, व्यापारिक सम्बन्ध विस्तार तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा निरन्तर संवाद र सहकार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।






