चिनियाँ दूतावास द्धारा काठमाडौंको मैत्री अस्पताललाई अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण

२०८३ असार ४, बिहीबार
पढ्ने समय : < 1 मिनेट

असार ४

नेपालस्थित चिनियाँ दूतावासले ठमेलस्थित ओभरसिज फ्रेन्डसिप इन्टरनेशनल अस्पताललाई अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण गरेको छ। अस्पताल परिसरमा आयोजित विशेष समारोहमा चिनियाँ दूतावासका प्रतिनिधिहरूले अस्पताल व्यवस्थापनलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै दूतावास प्रतिनिधिहरूले नेपालमा रहेका चिनियाँ नागरिक, विदेशी पर्यटक तथा स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालले खेलेको भूमिकाको प्रशंसा गरे। उनीहरूले नयाँ एम्बुलेन्सले आकस्मिक उद्धार, कन्सुलर संरक्षण तथा आपतकालीन स्वास्थ्य सेवामा थप प्रभावकारिता ल्याउने विश्वास व्यक्त गरे।
ओभरसिज फ्रेन्डसिप इन्टरनेशनल अस्पतालले विगत चार वर्षदेखि स्थानीय बासिन्दा, विदेशी पर्यटक तथा नेपालमा बसोबास गर्ने विभिन्न देशका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पताल विशेषगरी उच्च हिमाली क्षेत्रमा हुने आकस्मिक स्वास्थ्य समस्या, पर्वतारोहण तथा पदयात्रासम्बन्धी उद्धार सेवामा सक्रिय रहँदै आएको छ।
अस्पताल व्यवस्थापनका अनुसार चिनियाँ दूतावासबाट प्राप्त नयाँ एम्बुलेन्स सञ्चालनमा आएपछि आपतकालीन उद्धार तथा बिरामी ओसारपसार सेवा थप सुदृढ हुनेछ। यसले हवाई उद्धारपछि बिरामीलाई अस्पतालसम्म सुरक्षित र छिटो पुर्याउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अस्पतालले नेपालस्थित चिनियाँ दूतावासको कन्सुलर संरक्षण स्वयंसेवी इकाइका रूपमा समेत कार्यभार वहन गर्दै आएको छ । अस्पतालकी प्रेसिडेन्ट डा. सिया चेनचेनले उच्च हिमाली क्षेत्रबाट उद्धार गरिएका बिरामी, सो क्षेत्रमा लाग्ने रोग, मस्तिष्कघात, गम्भीर निमोनिया तथा अन्य जटिल स्वास्थ्य समस्याका बिरामीको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् ।
उनका अनुसार दूतावाससँगको समन्वयमा हालसम्म दर्जनौँ कन्सुलर सहायता तथा उद्धारका कार्य सम्पन्न भइसकेका छन्। समारोहमा अस्पतालका अन्य पदाधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी, चिनियाँ दूतावासका प्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरूको उपस्थिति थियो। सहभागीहरूले नेपाल–चीन स्वास्थ्य सहकार्यलाई अझ प्रभावकारी बनाउँदै भविष्यमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय