आन्दोलनपछि एक्कासी घटे लुम्बिनीमा आउने भारतीय पर्यटक

२०८२ आश्विन २२, बुधबार
पढ्ने समय : 2 मिनेट

भैरहवा असोज २२
गत भदौं २३ र २४ गते भएको जेन्जी आन्दोलन र त्यसपछिको राजनीतिक घट्नाक्रमका कारण लुम्बिनी आउने भारतीय पर्यटकको संख्या एक्कासी घटेको छ। आन्तरिक र तेस्रो मुलुकका पर्यटकको तुलनामा भारतीय पर्यटकको आगमनमा ह्रास आएको हो।
गत सेप्टेम्बरमा ७ हजार ४०९ भारतीय पर्यटक लुम्बिनी आएका छन्। यो अघिल्लो वर्षको सेप्टेम्बर महिनाको तुलनामा करिब आधा अर्थात साढे ६ हजारले कम हो। २०२४ को सेप्टेम्बरमा १३ हजार ८१७ भारतीय लुम्बिनी आएका थिए। कोभिड पछिका वर्ष सन् २०२२ को सेप्टेम्बरमा ११ हजार र २०२३ को सेप्टेम्बरमा १५ हजार ४०० भारतीय लुम्बिनी आएका थिए। बर्षा याम मानिने गत जुलाई र अगष्टमा सेप्टेम्बरमा भन्दा बढि भारतीय आएका थिए। यस वर्ष जुलाईमा १० हजार ३६० र अगष्टमा ११ हजार ८७३ भारतीयले बुद्ध जन्मस्थलको भ्रमण गरेका थिए।
कोरोना संक्रमणको कारण लुम्बिनीमा आन्तरिक र तेस्रो मुलुकको पर्यटन आगमन अझै लयमा आउन सकेको छैन। ३ वर्ष अघि जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका कारण भारतीय पर्यटकको आगमन तिब्र रुपमा बढेको थियो।
तर जेन जीको नाममा भएको पछिल्लो आन्दोलनले लुम्बिनीको पर्यटन क्षेत्रमा एक्कासी असर परेको लुम्बिनी होटल संघका सल्लाहकार खिम श्रेष्ठ बताउँछन्। ‘दसैंको बेला पनि अहिले लुम्बिनीमा चहलपहल छैन। भारतीय पर्यटक पनि आउन छोडे ।’ उनले भने ‘आन्दोलनले त कम हुने नै भए त्यससँगै काठमाडौंमा भारतीय पत्रकारलाई आक्रमण हुँदा पनि छिमेकी मुलुकमा नकारात्मक सन्देश गयो।’
लुम्बिनी विकास कोषका सुचना अधिकृत राजन बस्नेतले कोभिड पछि झन राम्रो भएको भारतीय पर्यटक आगमन एक्कासी घटेको बताए। ‘कोरोनापछि पनि भारतीय पर्यटकको अवस्था राम्रो थियो। जुन रफ्तारमा पर्यटक आइरहेका थिए, त्यो एक्कासी घटेको छ।’ उनले भने ‘दुई चार दिन त सिमानाका पनि बन्द भयो। यहाँको राजनीतिक परिस्थितीले नकारात्मक सन्देश गएकाले पनि भारतीयहरु आउन कम भइरहेको छ।’लुम्बिनीमा भारतबाहेक तेस्रो मुलुकका पर्यटक पनि केही घटेका छन्। गत सेप्टेम्बरमा ५ हजार ७१५ विदेशी पर्यटक लुम्बिनी आएका थिए। २०२४ को सेप्टेम्बरमा ४ हजार ५१२ पर्यटक लुम्बिनी आएका थिए। अघिल्लो वर्षको तुलनामा अहिले केही बढि आएका हुन्।
गत सेप्टेम्बरमा नेपाल भित्रबाटै लुम्बिनी घुम्न आउनेको संख्या १४ हजार ८८ रहेको छ। यो अघिल्लो वर्षको सेप्टेम्बर भन्दा केही कम हो। २०२४ को सेप्टेम्बरमा १४ हजार ६२६ आन्तरिक पर्यटक लुम्बिनी आएका थिए। यो वर्ष सेप्टेम्बरमै दसैंको छुट्टी परेपनि आन्तरिक पर्यटक बढ्न सकेनन्। मुग्लीन नारायणगढ सडकमा पहिरो र वर्षाका कारण दसैंमा घुम्नेहरु कम हुँदा पनि लुम्बिनीमा अपेक्षा अनुसार पर्यटक बढ्न सकेनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय