अमेरिकाले नेपाल लाई एमसीसीभन्दा बढी पौने ८१ अर्ब अनुदान दिने

२०७९ बैशाख २४, शनिबार
पढ्ने समय : < 1 मिनेट

बैशाख २४
अमेरिकाले आगामी पाँच वर्षमा नेपाललाई अनुदान स्वरूप उपलब्ध गराउने करिब पौने ८१ अर्ब रुपैयाँ (६५ करोड ९० लाख अमेरिकी डलर) सम्बन्धी सम्झौता भएको छ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी)का निर्देशक सेपिदेह केवंसद र अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सो सहयोगले मध्यम आययुक्त देशमा स्तरोन्नति हुने नेपालको लक्ष्य हासिल गर्न मद्दत गर्ने अर्थ मन्त्रालय र युएसएआइडीले संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्दै निर्देशक केवंसदले पाँच वर्षसम्म सञ्चालन हुने सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यको बृहत् विकास क्षेत्रको रूपरेखा प्रस्तुत गरेको र यसले नेपालको सामाजिक–आर्थिक उन्नयनमा योगदान गर्ने बताए । अर्थ मन्त्रालयलका सहसचिव अर्यालले अमेरिकी सहयोगबाट सुदृढ लोकतान्त्रिक शासन, उद्यमशील आर्थिक वृद्धि, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा टेवा पुग्ने बताए ।

अर्थ मन्त्रालयका अनुसार यो सहयोग गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा उपयोग गरिनेछ । सहायता रकमलाई सरकारको बजेट प्रणाली (रातो पुस्तक)मा अभिलेख गरेर पारदर्शी रूपमा कार्यान्वयन गरिने जनाइएको छ । नेपाल र अमेरिकाबीच भएको पञ्चवर्षीय विकास सहयोग सम्झौताले दुई देशबीचको ७५ वर्षको विश्वास, आपसी सम्मान र प्रतिबद्धताको सम्बन्धलाई अझ प्रगाढ तुल्याएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय