वर्षायामको दुई सय मेगावाट विद्युत् भारतमा बेच्न टेन्डर आह्वान

२०७९ बैशाख २३, शुक्रबार
पढ्ने समय : 2 मिनेट

बैशाख २३,
– नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेन्डर आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार टेन्डर आह्वान गर्दै नेपालका जलविद्युत् आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएको विद्युत् पाँच महिना अर्थात १७ असारदेखि आउँदो कात्तिक २९ गतेसम्म बिक्री गर्ने छ । भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनीहरु, विद्युत् वितरण कम्पनीहरु लगायतले विद्युत् खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

’भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत् बिक्रीका लागि स्वीकृति पाएका छौँ, त्यसमध्ये २०० मेगावाट प्रतिस्पर्धा मार्फत जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्ने गरी टेन्डर आह्वान गरेका हौँ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ‘बाँकी रहेको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्ने छौँ, टेन्डरको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईबाट छनोट भएका योग्य कम्पनीहरुलाई विद्युत् उपलब्ध गराइने छ ।’

नेपालबाट विद्युत् खरिद गर्न इच्छुक कम्पनीहरुले आउँदो जेठ १३ मध्याह्न १२ बजेसम्म मा प्रस्ताव पेस गर्न सक्नेछन् र त्यहीदिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ । इच्छुक कम्पनीले ५० मेगावाट भन्दा कम खरिदका लागि प्रस्ताव पेस गर्न नसक्ने व्यवस्था गरिएको छ । कम्पनीहरुले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ ९४८ हजार रुपैयाँ प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्ने छ ।

भारतले नेपालका ६ वटा विद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन मार्फत निर्यात हुनेछ । नेपालले प्राधिकरणको स्वामित्वका त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’,मध्यमर्स्याङ्दी, मर्स्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.को लिखु–४ बाट उत्पादित ३६४ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय