लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क मेहन्दी तालिम सुरु

२०८१ मंसिर २१, शुक्रबार
पढ्ने समय : 2 मिनेट

भैरहवा मंसिर २१
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवामा आयोजना गरेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ (पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) मा शुक्रबारदेखि निःशुल्क मेहन्दी तालिम सुरु भएको छ ।


१० दिने तालिमको उद्घाटन गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर कुमार श्रेष्ठले धार्मिक र साँस्कृतिक महत्व बोकेको मेहन्दी जो कोहीले लगाउन नसक्ने भएकाले मेहन्दी लगाउन सिके महिलाहरूलाई स्वरोजगार हुन सहज हुने बताए ।
त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य तथा महोत्सवको महिला उद्यमी तथा हस्तकला समिति संयोजक पल्लवी न्यौपानेले मेहन्दी तालिम निकै महंगो हुने भएकाले सिद्धार्थ उद्योग वाणिज्य संघले विगतका वर्षहरुदेखि नै यस्ता तालिमहरुलाई निःशुल्क रुपमा सञ्चालन गर्दै आएको बताइन् । उसले यस्ता तालिमले महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन सहयोग पुग्ने बताइन् ।
उनले भनिन्, ‘महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर तथा व्यवसायिक एवं स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।’ उनले यो अवसरको सदुपयोग गर्न आग्रह गरिन् । संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
मंसिर ३० गतेसम्म सञ्चालन हुने मेहन्दी तालिममा ६५ जना प्रशिक्षार्थीहरू सहभागी छन् । आयोजकका अनुसार तालिमको अन्तिम दिन प्रशिक्षार्थीहरुबीच प्रतिष्पर्धा गराई प्रथम, द्वितीय र तृतीय हुनेलाई नगदसहित पुरस्कृत गरिनेछ । मंसिर २० गतेदेखि सुरु भएको महोत्सव पुस १ गतेसम्म सञ्चालन हुनेछ ।
करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने संघका सचिव तथा प्रचार प्रसार समिति संयोजक मंगल भण्डारीले बताए ।

महोत्सवको संरक्षक सिद्धार्थनगर नगरपालिकाको कार्यालय, सह–आयोजक नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश, प्रवद्र्धक पर्यटन विकास परिषद्, बुटवल, मुख्य प्रायोजक रुद्राक्ष मार्ट, भैरहवा र सह–प्रायोजक रिया रक्षा फूड प्रोडक्टस, भैरहवा रहेका छन् । त्यस्तै टिकट प्रायोजक ग्लोबल आईएमई बैंक लि., आधिकारिक बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.र आधिकारिक इन्स्योेरेन्स नेको इन्स्योरेन्स रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय