चैत्र १,
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको शैक्षिक पूर्वाधारका निम्ति भारत सरकारले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै थप सहयोग गर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिलान्यास गर्दै मंगलबार उक्त विचार व्यक्त गरेका हुन् ।



‘त्रिभुवन विश्वविद्यालयको पुस्तकालय भवन निर्माणको शिलान्यास गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘भारत सरकारको पुनर्निर्माण परियोजना अन्तर्गत अनुदान प्रणालीमा निर्माण हुन लागेको सबैभन्दा ठूलो लगानी हो । भारतले नेपाललाई शिक्षा क्षेत्रमा ५० मिलियन अमेरिकी डलर (करिब ६ अर्ब रुपैयाँ) बराबरको अनुदान सहयोग गरेको छ ।’ निर्माणको चरणमा रहेको पुस्तकालय भवन वास्तुकलामा आधारित र अत्याधुनिक सुविधासहितको हुने बताए ।
‘भारतका सेन्ट्रल बिल्डिङ रिसर्च इन्स्टिच्युट (सीबीआरआई)ले मूल्यांकन गरेअनुसार भूकम्प प्रतिरोधात्मक भवन बन्ने छ,’ पुस्तकालय निर्माणमा दूतावासले विशेष चासोका साथ लिएको उल्लेख गर्दै भने, ‘भवन निर्माण कार्य भारत र नेपालबीचको लामो मित्रताको प्रतिफल हो । नयाँ भवन पनि भारत सरकारकै पहलमा बनेकोमा हामी गर्व गर्छौं ।’
भारतले २०२४ सालमा निर्माण गरिदिएको त्रिवि केन्द्रीय पुस्तकालय भवन २०७२ को भूकम्पले जीर्ण बनेको छ । त्यसैगरी पुस्तकालयसँगै गान्धी भवन, जाकिर हुसेन रोज गार्डेनसमेत भारत सरकारले निर्माण गरिदिएको थियो ।
भूकम्पपछि भारतीय सहयोगमा ४० विद्यालय भवन निर्माण भइसकेका छन् । भने ५६ वटा निर्माण सम्पन्न हुने चरणमा रहेको उनले जनाए । ‘नेपालको शिक्षा क्षेत्रमा योगदान गर्न पाएकोमा हामी गौरवान्वित छौं,’ राजदूत क्वात्राले भने, ‘।
३६ करोड ११ लाख ६६ हजार रुपैयाँ लागतमा त्रिवि केन्द्रीय पुस्तकालय निर्माण सुरु भएको हो । यसका अलावा भारत सरकारको इक्जिम बैंकमार्फत त्रिविका ३८ वटा क्याम्पस भवन निर्माण हुन बाँकी रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका निर्देशक रामशरण सापकोटाले जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले त्रिवि केन्द्रीय पुस्तकालय, राजधानीको जमलमा राष्ट्रिय पुस्तकालय र केशर पुस्तकालय भवन निर्माण कार्य मुख्य प्राथमिकतामा राखेको बताए । ‘केन्द्रीय पुस्तकालय लगायत विश्वविद्यालय देखि विद्यालयका भवन निर्माणमा सहयोग गरेकोमा भारत सरकारप्रति आभार प्रकट गर्दछु,’ मन्त्री पौडेलले भने,।
त्रिवि शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुसालले पुस्तकालय र विश्वविद्यालयको शैक्षिक सुधारको पक्षमा बोलेका थिए । पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठले २०१६ सालमा स्थापित पुस्तकालयमा हाल ४ लाख ३० हजार पुस्तक र ४ लाख ५० हजारभन्दा बढी ई–बुक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसन तथा जर्नल, म्यागजिन तथा रिपोर्टहरू रहेको बताए। केसी हनुमान जेभीले गत पुसबाट निर्माण आरम्भ भएको र सुरु भएको पन्ध्र महिनाभित्र निर्माण सम्पन्न गर्ने जनाएको छ ।



