पेरिस ओलम्पिकमा भारतीय सांसद

२०८१ श्रावण १७, बिहीबार
पढ्ने समय : < 1 मिनेट

साउन १७
फ्रान्सको राजधानी पेरिसमा जारी ३३औं गृष्मकालीन ओलम्पिकमा भारतकी एक सांसदले पनि प्रतिस्पर्धा गरेकी छन्। बिहार विधानसभा सांसद श्रेयसी सिंहले पेरिस ओलम्पिकमा सुटिङमा प्रतिस्पर्धा गरेकी हुन्।
भारतका चर्चित सुटिङ खेलाडीमध्येकी श्रेयसी सन् २०२० देखि राजनीतिमा पनि आवद्ध भएकी हुन्। केन्द्रीय मन्त्री दिग्विजय सिंहकी छोरी श्रेयसीले राजनीतिमा पाइला राखेलगत्तै सांसद बन्न सफल भएकी थिइन्। २०२० मा भारतीय जनता पार्टी (भाजपा) को सदस्यता लिएकी उनले त्यही वर्ष विधानसभा निर्वाचनको टिकट पाएकी थिइन्।
सो चुनावमा उनले बिहारको जमुई क्षेत्रबाट राष्ट्रिय जनता दलका उम्मेदवार विजयप्रकाश यादवलाई ४१ हजार ४९ मतले पराजित गर्दै सनसनी मच्चाएकी थिइन्। उनले ७९६०३ मत ल्याउँदै सानदार जित हासिल गरेकी थिइन्। अघिल्लो पटकका सांसद विजयप्रकाश यादवले भने ३८५५४ मत मात्रै ल्याएका थिए।
श्रेयसीको सिंगो परिवार नै राजनीतिमा सक्रिय छ। उनका पिता दिग्विजय सिंह सांसद तथा मन्त्री रहिसकेका छन् । भने आमा पुतुल सिंह पनि अहिले सांसद छिन्। सानै उमेरदेखि राजनीतिक परिवेशमा हुर्किएकी श्रेयसीले खेलकुदसँगै राजनीतिलाई पनि अगाडि बढाएकी हुन्।
श्रेयसीले सन् २०१४ को राष्ट्रमण्डल खेलकुदमा रजत पदक जितेकी थिइन्। उनले सुटिङको डबल ट्रयाप विधामा रजत पदक पक्का गरेकी हुन्। सोही वर्ष भएको इन्चोन एसियाली खेलकुदमा उनले कांस्य पदक जितेकी थिइन्। यस्तै सन् २०१८ को राष्ट्रमण्डल खेलकुदमा भने उनले स्वर्ण पदक जितेकी थिइन्। पेरिस ओलम्पिक अन्तर्गत बुधबार सुटिङमा प्रतिस्पर्धा गरेकी उनी प्रारम्भिक छनोटको ३० मध्ये २३औं स्थानमा रहिन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय