फागुन २१
दशकदेखि मुलुकमै जिल्लास्तरमा ५० ओभरको सुपरलिग संचालन गर्दै आएको रुपन्देही क्रिकेट संघले ड्रिम यूनिक कन्सलटेन्सी प्रालि, बुटवलसँग ‘टाइटल स्पोन्सर’ सम्झौत गरेको छ । विगत ७ वर्षदेखि रुपन्देही सुपरलिगका लागि नेपाल टेलिकमले मुख्य प्रायोजन गर्दै आएको थियो । सरकारी कार्यालयसँग सम्झौता गरेर काम गर्दा प्रक्रियागत लगायतका झन्झट भएको भन्दै संघले निजी संस्थासँग सम्झौता गरेको हो । जसले गर्दा यसपटक सुपरलिग संचालनार्थ बुटवल उपमहानगरपालिका–८, सुख्खानगरमा रहेको ड्रिम यूनिकसँग ‘टाइटल स्पोन्सर’ सम्झौता गरिएको हो ।
सोमबार भैरहवामा आयोजित कार्यक्रममा क्रिकेट संघका तर्फबाट अध्यक्ष हरिबहादुर थापा र ड्रिम यूनिक कन्सलटेन्सीका तर्फबाट प्रबन्ध निर्देशक विशाल आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार रुपन्देही सुपरलिग–२०८० संचालन गर्नका लागि ड्रिम यूनिकले यस वर्ष क्रिकेट संघलाई ३ लाख रुपैयाँ दिनेछ । ड्रिमले तीन लाखको ३३ प्रतिशत रकम सम्झौता भएसँगै संघलाई उपलब्ध गराएको छ भने बाँकी ३३ प्रतिशत रकम प्रतियोगिता सुरु हुन एक दिन अगाडि दिनेछ । यस्तै, बाँकी ३४ प्रतिशत रकम प्रतियोगिता समापन भएको एक हप्ता भित्रमा संघलाई दिने गरी सम्झौता गरिएको हो ।
संघका अध्यक्ष थापाले नयाँ सम्झौतले सुपरलिग थप व्यवस्थित रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले आउँदा वर्षहरुमा पनि ड्रिमले निरन्तर मुख्य प्रायोजन गर्दै जाने विश्वास गरे ।
सम्झौतामा प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरेर रुपन्देही जिल्ला भित्रका २० क्लबहरुको सहभागितामा लिगको आधारमा कम्तीमा ३० खेलहरु संचालन गर्नुपर्ने मापदण्ड बनाइएको छ । यस्तै, प्रथम पक्ष (क्रिकेट संघ)ले प्रतियोगिताको नामाकरण दोस्रो पक्ष (ड्रिम यूनिक)को नाममा राख्नु पर्ने शर्त राखिएको छ । प्रतियोगिता स्थलमा प्रमुख प्रायोजनको महत्व झल्कने गरी मुख्य द्वारा निमार्ण प्रथम पक्षले गर्नु पर्ने भनिएको छ ।
संघका पूर्वअध्यक्ष एवं नेपाल क्रिकेट संघका पूर्वकार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले लामो समयदेखि जिल्लास्तरमा ५० ओभरको सुपरलिग गराउने रुपन्देही एक मात्र जिल्ला भएको जनाए । उनले यही सुपरलिगका उत्पादन थुप्रै खेलाडीहरु राष्ट्रिय क्रिकेट खेलमा जमिसकेको जनाउँदै आउँदा दिनमा पनि प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले क्रिकेटको विकासमा ड्रिम यूनिक कन्सलटेन्सीले गरेको साझेदारी महत्वपूर्ण रहेको उल्लेख गरे ।
ड्रिम यूनिकका प्रबन्ध निर्देशक आचार्यले सानैदेखि क्रिकेट मन पर्ने खेल भएको जनाउँदै सुपरलिग संचालनमा सहकार्य गर्न पाउँदा निकै खुशी लागेको बताए । ‘मेरो भाई क्रिकेट खेलाडी थिए, कारणबस निरन्तर गर्न सकेनन् तर पनि हामीलाई क्रिकेटप्रतिको माया उस्तै छ’, उनले भने, ‘यसैले पनि हामी यो सम्झौता गर्ने अवस्थामा आयौं । आउँदा दिनमा पनि सहकार्यलाई निरन्तरता दिँदै जानेछौं ।’
यस वर्षको सुपरलिग आउने हप्तादेखि सुरु गर्ने संघको तयारी छ । यद्यपि अझै मिति भने तोकिएको छैन । लामो समयदेखि महिना दिनसम्म सुपरलिग गर्दै आएको संघले जिल्लाबाट नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिँदै आएको छ । जिल्लास्तरमा आयोजना हुने यस किसिमका लिगकै कारण रुपन्देहीबाट अहिलेसम्म ९० बढी राष्ट्रियस्तरका खेलाडी उत्पादन भइसकेका छन् ।