बिपी जयन्तीमा भैरहवामा म्याराथनः धनु र सरितालाई उपाधि

२०८१ भाद्र २४, सोमबार
पढ्ने समय : 1 मिनेट

 

भैरहवा भदौ २४
भैरहवामा सम्पन्न खुल्ला मिनी म्याराथन धावक धनु मानन्धरले जितेका छन् । १११औं वीपी जयन्तीको अवसर पारेर नेपाली कांग्रेस, रुपन्देहीले सोमबार आयोजना गरेको ५ किलोमिटरको दौड (मिनी म्याराथन) मानन्धरले १५ मिनेट ५२ सेकेन्डमा पूरा गर्दै प्रथम भए । उनी पोखरा निवासी हुन् ।

रुपन्देही गैडहवा गाउँपालिकाका उमेश बरईले १६ मिनेट ४ सेकेन्ड र रुपन्देहीकै सियारीका अजय पाण्डेले १६ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र तेस्रो भए । मनोज केवटले सान्त्वना पुरस्कार जिते ।
महिलातर्फ कालीभक्ती गणकी सरिता कुमारी बस्नेतले ५ किलोमिटरको दुरी २१ मिनेट २९.४४ सेकेन्डमा पूरा गर्दै प्रथम भइन् । कुसुम ठगुन्नाले २१ मिनेट २९.७३ सेकेन्डमा उक्त दुरी पार गरिन् । विपना केसीले २१ मिनेट ४४ सेकेन्ड दूरी पूरा गरी तेस्रो भइन् । विन्दु थापाले सान्त्वना पुरस्कार जितिन । महिलातर्फ दोस्रो बाहेक सबै पुरस्कार सेनाले हात पारेको हो ।

 

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रोलाई ५, तेस्रोलाई ३ हजार नगदसहित मेडल प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै, सान्त्वना हुनेलाई १ हजार ५ नगदसहित मेडल प्रदान गरिएको नेपाली काँग्रेस रुपन्देहीका सदस्य समेत रहेका खेल संयोजक ओमकुमार श्रेष्ठले बताए ।
प्रतियोगितामा सहभागी भएका मध्ये हरिचन्द्र श्रेष्ठ (५८), मयंक अग्रवाल (११) र सादिक पठान (११) लाई पनि सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । विजयी धावकलाई काँग्रेस केन्द्रिय सदस्य अब्दुल रज्जाक गद्दी, रुपन्देही सभापति रामकृष्ण खाँण, कार्यक्रम संयोजक ओमकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न जिल्लाका धावक, काँग्रेस शुभेच्छुक र सर्वसाधारण गरि करिब ४ सय ५० जनाको सहभागिता रहेको आयोजकले जनाएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट सुरु भएको दौड लुम्बिनीरोड, बुद्धचोक नारायणस्थान, प्रहरीटोल हुँदै मिलनचोकमा पुगेर समापन भएको थियो ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य रज्जाकले गरेका थिए । पार्टी जिल्ला सभापति खाँणले खेलको विकासबाट राष्ट्रकै विकास गर्न सकिन्छ र यसमा पार्टीहरु पनि लाग्नुपर्ने सन्देश सहित वीपी जयन्तीको अवसरमा मिनि म्याराथनको आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय