भैरहवा भदौ २०
नेपाली काँग्रेस रुपन्देहीले यही भदौ २४ गते सोमबार भैरहवामा खुल्ला मिनी म्याराथन प्रतियोगिता गर्ने भएको छ ।
१११ औं विपी जन्म जयन्तीको अवसरमा ‘खुल्ला मिनी म्याराथन प्रतियोगिता’ आयोजना गरिएको काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । युवाहरुमा खेल क्षेत्रप्रति उत्साह जगाउँदै खेलको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।
पाँच किलोमिटरको प्रतियोगिता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भइ लुम्बिनीरोड, बुद्धचोक, बर्मेलीटोल, नारायणस्थान हुँदै मिलनचोक आएर समापन हुने कार्यक्रम संयोजक तथा काँग्रेस रुपन्देही जिल्ला सदस्य ओम कुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रम संयोजक श्रेष्ठका अनुसार प्रतियोगिता बिहान ६ः३० देखि सुरु हुनेछ ।
प्रतियोगितामा खुल्ला र महिलातर्फ विजेताले अलगअलग पुरस्कार पाउनेछन् ।
खुल्लातर्फ प्रथम पुरुस्कार रु. १० हजार र मेडल, द्वितीय पुरस्कार रु. ५ हजार र मेडल, तृतीय पुरस्कार रु. ३ हजार र मेडल र सान्त्वना पुरस्कारहरु २ जनालाई रु. १ हजार ५ सय र मेडल दिइनेछ ।
त्यसै गरी महिलातर्फ प्रथम पुरस्कार रु. १० हजार तथा मेडल, द्वितीय पुरस्कार रु.५ हजार र मेडल, तृतीय पुरस्कार रु. ३ हजार र मेडलको व्यवस्था गरिएको कार्यक्रम संयोजक श्रेष्ठले बताए ।