शारदा मल्ल
भैरहवा भदौ १६
रुपन्देहीमा अवैध रूपमा भारतीय बजारबाट भन्सार छलेर ल्याउने प्याजको कारोबार बढेको छ। अवैध रुपमा प्याज आइरहेको पुष्टि विगतका २ महिनामा रुपन्देहीका सुरक्षा निकायले बरामद गरेको अवैध प्याजको परिमाणले देखाउछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारले विभिन्न नाकाबाट २ महिनामै लाखौँ बढी मूल्यको प्याज बरामद गरेको छ ।
भारतले २०२३को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो भने अहिले मईबाट निर्यात खोलेको छ । प्रतिबन्ध हटेपनि प्याजको निर्यातमा करिब ४० प्रतिशत निर्यात शुल्क लगाएको छ जसले प्याजका तस्करहरु अझै सक्रिय छन ।
नेपालले भने प्याजको आयातमा कुनै रोक लगाएको छैन । जसका कारण वैधानिक बाटोबाटै पनि प्याज आयात गर्न सकिने अवस्था रहेको छ । ‘ वैधानिक बाटोबाट आएको प्याजलाई भन्सारले नियम बमोजिम भित्रिन कुनै रोकटोक गर्दैन ।’
भैरहवा भन्सार कार्यालयबाट यो आर्थिक वर्ष सुरु भएको डेढ महिनामा प्याजको आयात शुन्य रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख नारदा गौतमले बताएका छन । नियम अनुसारका कागज पत्र पुरा गरी भन्सार गर्न आए प्याजको भन्सार हुने तर तस्करी मार्फत भित्र्याउने व्यवसायीले चोर बाटो बाटै प्याज भित्र्याउन गरेको प्रमुख गौतमले बताए।
भन्सारको बाटोबाट ल्याउँदा राजश्व तिर्नुपर्ने भएकाले तस्कर समूहले तस्करी गर्दै आएको भन्सार कार्यालयको दावी छ ।
भारतका सिमावर्ती क्षेत्रमा प्याजको मूल्य नेपालमा भन्दा धेरै सस्तो भएकाले पछिल्लो समयमा खुला सिमानाकाको फाइदा उठाउदै अवैध आयात बढेको हो । व्यापारीले अवैध रुपमा भित्र्याएर महँगोमा प्याज बिक्री गरी उपभोक्ताको ढाड सेक्दा समेत नियामक निकाय मौन बसेको छ । रुपन्देहीको विभिन्न नाकाबाट साइकल, मोटरसाइकल र इरिक्सामा प्याज तस्करी भइरहेको छ भने ठूला तस्करहरुले पिकअप र मिनी ट्रकमा प्याज भित्रयाईरहेका छन । तस्करका भरियाहरुले एउटै साइकल तथा मोटरसाइकलमा ३÷४ वटा बोरासम्म प्याज ल्याउने गरेका छन् । भारतबाट अबैध रुपमा बच्चा युवा, महिलादेखि वृद्धसम्मले दैनिक रुपमा प्याज ओसार्ने गरेका छन् । दिनहुँ खुलेआम प्याज तस्करी हुँदासमेत सरोकारवाला निकाय मौन छन् ।
सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारी प्याज ल्याउने गरेको तस्करहरुको भनाइ छ । अहिले रुपन्देहीको त्रिलोकपुर, कदमहवा, दुर्गौलिया, सेमरपानी, भगवानपुर, मेउडिहवा, नौडिहवा, कालिदह नाका तस्करहरुको मुख्य नाका रहेको छ । भारतिय बजारभन्दा नजिकै पर्ने भएकोले तस्करहरुको रोजाईमा यि नाकाहरु रहेका छन । एउटै नाकामा धेरैको नजर रहेकोले बाडिएर काम गरेका तस्करहरु अहिले समूह समूहमा भई काम गरिरहेका छन । समूहमा एक जना टोली नेता बनाई उही मार्फत लाइन र सेटिङ गरिरहेका छन । उनीहरुले प्रहरीका घुमुवाहरु मार्फत लाइन मिलाएको बताइरहेका छन ।
सिमाक्षेत्रबाट आएका प्याज बसन्तपुर, गल्लामण्डी लगायतका क्षेत्रमा डम्प गरी जिल्ला बाहिर पठाउने गर्छन । कतिपयले भण्डार गरेर राखेर नक्कली कागजात बनाई काठमाडौंसम्म पठाउने गरेका छन् । खुलेयाम प्रहरीको संरक्षणमा तस्करी हुँदा दैनिक लाखौं राजस्व गुमेको छ । ‘सीमित व्यक्तिको स्वार्थले गर्दा राज्यलाई लाखौं राजस्व घाटा भइरहेको छ ।
सुरक्षा निकायले थोरै मात्रामा सामानहरु बरामद गरेर कार्यसम्पादन देखाएपनि ठूला तस्करहरुलाई छुट सरह छ ।
यता भैरहवा का प्याज व्यापारी भन्छन तस्करीको प्याज सग प्रतिस्पर्धा गर्न सकिदैन त्यसैले प्याज ल्याउन छोडेको छु। अहिले साइकल,मोटरसाइकलमा तस्करी गरेर ल्याएका प्याज पानका टंकीमा पनि बिक्रीका लागी राखिने गरेको ती व्यापारी बताउछन।