
भैरहवा बैशाख २७
२५६९ औं बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा भाग लिन रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारी थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरे छन् ।
बैंककस्थित नेपाली राजदूतावासले आयोजना गरेको विशेष कार्यक्रम ‘लुम्बिनी, नेपाल– भगवान बुद्धको जन्मस्थल, विश्व शान्तिको उद्गम स्थल’ विषयक कार्यक्रममा सहभागी हुन नगर प्रमुख खाँ शनिवार त्यसतर्फ प्रस्थान गरेका हुन । उपप्रमुख अधिकारी भने शुक्रबार नै बैंककतर्फ गएकी छन् ।
कार्यक्रम आइतबार र सोमबार आयोजना हुनेछ । कार्यक्रममा बेलायतका प्रख्यात पुरातत्वविद् प्रोफेसर रबिन कनिङ्घमले लुम्बिनीको ऐतिहासिक तथा पुरातात्विक महत्वबारे विशेष प्रस्तुति दिने छन् । साथै, भन्ते डा. अनिलमान शाक्यले भगवान बुद्धको जीवन र शिक्षाहरू र प्रबुद्धको पवित्र जन्मस्थल लुम्बिनीको आध्यात्मिक सान्दर्भिकताका बारेमा आफ्नो अन्तर्दृष्टि प्रस्तुत गर्ने छन् । कार्यक्रमले भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई शान्ति र आध्यात्मिक पर्यटनको विश्वव्यापी केन्द्रका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ.


