रूपन्देही सुपरलिग सुरुः स्टार क्रिकेट क्लबको विजयी सुरुवात

२०८१ कार्तिक २४, शनिबार
पढ्ने समय : 2 मिनेट

भैरहवा कार्तिक २४
भैरहवामा २५औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारबाट सुरु प्रतियोगिताको डिभिजन ‘बी’ अन्तर्गतको उद्घाटन खेलमा स्टार क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । स्टारले नेपथ्य ज्ञानोदय क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै जित निकालेको हो ।
यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपथ्यले निर्धारित ५० ओभरको खेलमा २० ओभर १ बल खेल्दै सबै विकेट गुमाई ५७ रनको झिनो योगफल बनायो । उसका लागि भुवन गैरेले १६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उसलाई झिनो स्कोरमा रोक्न बलिङमा स्टार क्रिकेटका शुभम खनाल र नरबहादुर सार्कीले ४–४ विकेट लिए । यस्तै, निरज मौर्य र बिजवल बश्यालले १–१ विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको स्टार क्रिकेटले ९ ओभर २ बलमा १ विकेट गुमाउँदै ५९ रन बनायो र जित निकाल्यो । उसको लागि आयन खानले २३ तथा राहुल नाउले नटआउट १३ र कृष्ण विकले अविजित ११ रन बनाए । बलिङमा नेपथ्यका सन्तोष क्षेत्रीले १ विकेट लिए । खेलमा नरबहादुर सार्की म्यान अफ द म्याच घोषित भई १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुई चरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा कार्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु सुरु भएका छन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका सचिव सजय गुरुङले बताए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले रुपन्देही क्रिकेटको उर्भर भूमि भएको बताए । उनले यस्ता खेलहरुकै कारण खेलाडीमा निखारपना आउने जनाउँदै निरन्तर वर्षभरी क्यालेण्डर बनाएर आयोजना गर्नुपर्नेमा जोड दिए । संघका अध्यक्ष हरिबहादुर थापाले क्रिकेटको विकासका लागि लागि परेको बताए । उनले संघले वार्षिक योजना बनाएरै प्रतियोगिता आयोजना गर्ने गरेको जानकारी दिए । उद्घाटनसत्रमा संघका पदाधिकारी तथा सदस्यहरु, अम्पायरहरु, खेलप्रेमी, स्थानीय, बासिन्दा, उद्योगी व्यवसायी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय